स्याङ्जा । वालिङ नगरपालिकाले यहाँका व्यवसायिक बाख्रा पालक कृषकलाई युरिया मोलासेस मिनरल ब्लक बनाउने तालिम प्रदान गरेको छ ।
वैकल्पिक अहाराको रुपमा प्रयोग गरिने यो ब्लकले दुग्धजन्य पशुमा दूधको र मासुजन्य पशुमा मासुको उत्पादकत्व वृद्धि हुन्छ ।
पशुको पाचन प्रणालीमा खान पचाउन सुक्ष्म जीवाणु आवश्यक हुने र रेसादार खाना पचाउन यो ब्लकले निकै राम्रो काम गर्नेछ ।
वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा. रोशन बस्यालले वालिङ नगरपालिकाले पहिलो चरणमा बाख्रा पालक किसानलाई युएमएमबी ब्लक बनाउने तालिम प्रदान गरेको हो ।
युरिया मल, खुदो वा गुण, धानको ढुटो, चोकर, नुन, पिना, खनिज आदिको मात्रा मिलाएर किसानले कम लागतमा घरमै ब्लक बनाउन सक्ने भएकोले ब्लक निर्माणमा किसान आकर्षीत भएका छन् ।
हरियो घाँसको विकल्पमा स्थानीय स्रोत र साधान प्रयोग गरेर घरमै ब्लक निर्माण गर्न पाउदा आँफूहरु निकै उत्साहित भएको वालिङ ११ स्थित दिलतारा बाख्रा फर्मका संचालन ओम प्रकाश पंगेनीले बताए ।
बाख्रापालक किसानले यो ब्लकलाई बाख्राले चाट्न सक्ने गरी फर्ममा झुण्ड्याएर राख्ने गर्दछन् । पशुमा प्रोटिन तथा खनिज लवणहरूको कमीलाई हटाउन सस्तो र सरल उपाय रहेको विज्ञको बुझाइ छ ।
यसको प्रयोगले पशुको पाचन प्रणालीमा खान पचाउन सुक्ष्म जीवाणु पैदा गर्ने कारण पशुको वृद्धि विकास राम्रो हुने पशु प्राविधिक डोलराज गैह्रेको भनाइ छ । सुख्खा समयमा यसको प्रयोग गर्नाले २१ देखि २५ प्रतिशतसम्म उत्पादकत्व वृद्धि हुने गैह्रे बताउछन् ।
कृषि पेशामा युवालाई आकर्षित गर्न वालिङ नगरपालिकाले बिना धितो लगान, खसी बोकाको बजारीकरणमा ग्यारेण्टी र प्राविधिक तालिम प्रदान गर्दै आएको छ ।
किसान लक्षित कार्यक्रमको कारण अहिले ४८ वटा फर्म नगरपालिकामा सूचीकृत भएर व्यवसायिक बाख्रापालन गर्दै आएका छन् ।






