पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनका लागि नयाँ मतपत्र छपाईको काम अघि बढाइएको बताइएको छ ।
यसअघि मतपत्र छापेर मतदानका लागि तयारी गर्दै गर्दा अखिल छैठौँका उम्मेद्वारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्ट छुटेको पाइएपछि मतदान प्रक्रिया अवरुद्ध भएको थियो । बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान दिउँसो १ बजेसम्म अबरुद्ध छ ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले विद्यार्थी संगठनकै सहमति अनुसार मतपत्र छपाइको काम भइरहेको र केही बेरमा मतदान शुरु हुने जानकारी दिए ।
साथै उनले निर्वाचन प्रक्रियालाई सहज ढंगले अघि बढाइदिन आग्रह गरेका छन् ।
यसअघि छापिएका मतपत्रमा त्रुटि पाइएपछि अखिल (छैठौँ) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने चेतावनी दिएका थिए ।
यता, स्ववियु अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले विज्ञप्ति जारी गरी यथाशीघ्र स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा तुरुन्त निर्वाचन गर्न अपिल गरेका छन् ।






