पोखरा । सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमानमा एक सय २८ जना यात्रु रहेको बताइएको छ । आजै पोखराबाट करिब एक सय २० भन्दा बढी यात्रुलाई लिएर विमान चीन फर्किँदैछ ।
विमानमार्फत पोखराबाट पोखरा महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा पर्यटन व्यवसायी र पत्रकार चीन जाँदैछन् । उनीहरुको चीन बसाई आठ दिनको हुने बताइएको छ । तर मेयर आचार्य भने तीन दिनपछि पोखरा फर्किने बताइएको छ ।
आजदेखि पोखरा-छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने बताइएको छ ।
तालिकाअनुसार पहिलो दिन आज सिचुवान एयरलाइन्सको जहाज एक सय २८ चिनियाँ पर्यटक लिएर पोखरा आएको हो ।
यही चैत १८ गतेबाट हिमालय एयरलाइन्सले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ल्हासामा नियमित व्यवसायिक उडान गर्ने तयारी गरेको छ ।
एयरलाइन्सले चैत्र १८ गते बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-ल्हासा उडान गर्नेछ ।
चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ । सोही जहाज स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
आगामी हप्तापछि दोस्रो उडानमा पोखराका लब्धप्रतिष्ठित व्यक्तिसँग पत्रकारको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेस्रो उडानमा सामाजिक अभियन्ता तथा नागरिक अगुवा जाने तयारी गरिएको पोखरा पर्यटन परिषदले जनाएको छ ।
नियमित चार्टर्ड फ्लाईटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरिरहेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
उनका अनुसार आगामी तीन महिना भित्रमा चीनको सिचुवानबाट एक हजार दुइ सय ५० जना भन्दा बढी चिनियाँ पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ । यो प्रयास चिनियाँ दूतावासको सहयोगमा भइरहेको उनले बताए ।
पोखरा आएका चिनियाँ एक सातासम्म पोखरा, चितवन, काठमाडौँ सहरमा घुम्नेछन् । पोखरामा भेटेर उनीहरू स्वदेश फर्किनेछन् ।






