पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चीनको छेन्दुतर्फ लागेका छन् । उद्योगी, पर्यटन व्यवसायी र पत्रकारसहित एक सय २६ जना टोलीको नेतृत्व गर्दै मेयर आचार्य छेन्दु लागेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीका अनुसार पहिलो नियमित व्यावसायिक चार्टर्ड उडानबाट मेयर आचार्यको नेतृत्वमा एक सय २६ यात्रु चीनको छेन्दु लागेका हुन् ।
चीनको छेन्दु र ल्हासामा नियमित उडान भए त्यसले पर्यटन प्रवर्धनलाई सहयोग गर्ने मेयर आचार्यको विश्वास छ ।
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुआन एअरलाइन्ससँगको सहकार्यमा व्यावसायिक चार्टर्ड उडान थालिएको भनिएको छ ।
चिनियाँ कलाकारले बुधबार पोखरा सभागृहमा सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम छ । पहिलो उडानमा गएको उक्त नेपाली टोली आठ दिने भ्रमणका क्रममा पर्यटन प्रवर्द्धनार्थ छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ पुग्नेछ ।
त्यहाँ पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन हुनेछ । चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिने तालिका छ ।
छेङ्दु-पोखरा व्यावसायिक चार्टर्ड उडानमार्फत एक सय २८ चिनियाँ यात्रु लिएर सिचुवान एयरलायन्सको विमान आजै बिहान पोखरा आएको थियो ।
उनीहरुलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र नेपालका लागि चिनियाँ राजदूत छन सोङले स्वागत गरेका थिए ।
मेयर आचार्यले चार्टर उडानले आगामी दिनमा दुई देशको मित्रतासँगै पर्यटनलाई पनि अझ उचाइँमा पुर्याउने विश्वास व्यक्त गरे ।
अब मार्च २५ मा अर्को उडान हुने बताइन्छ ।
हालसम्म चार्टर्ड र अन्तर्राष्ट्रिय गरी एक दर्जन अन्तर्राष्ट्रिय उडान मात्र भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सले पनि एप्रिल १ बाट पोखरा-ल्हासा नियमित उडान गर्ने तयारी गरेको छ ।
सन् २०२३ मा उद्घाटन भएको पोखरा विमानस्थलमा हुन लागेका व्यावसायिक उडानले पर्यटन व्यवसायी उत्साहित भएका छन् । उनीहरुले पोखरालाई ‘पर्यटकीय राजधानी’ का रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय उडानले बल पुर्याउने दावी गरेका छन् ।






