पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छन् ।
युगाण्डामा चार देश सम्मिलित टी–ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।
बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभइ राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताइन् ।
उनले युगान्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको विश्वास व्यक्त गरिन् । युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको उनले बताइन् ।
तर नतिजाका रूपमा श्रृंखलामा भने हाम्रो राम्रो नभएको बताइन् । नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गरिन् ।
श्रृंखला ससाना गल्ती भइरहेको र त्यसमा आफूले नै भूमिका खेल्नुपर्ने भए पनि व्यक्तिगत रूपमा आफूबाट पनि राम्रो प्रदर्शन नभएको उनको भनाइ छ । आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव रहेको कप्तान इन्दुले बताइन् ।
कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गरिन् । ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अझै राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दुको छ ।
कप्तान इन्दुले उत्कृष्ट टोलीसँग क्रिकेट खेलेकाले एसिया क्वालिफायरका लागि तयारी प्रभावकारी भएको बताइन् । नतिजा नआए पनि पहिलेको क्रिकेट शैली र अहिलेमा धेरै पक्षमा सुधार आएको उनको विश्वास छ ।
महिला क्रिकेटलाई जतिसक्दो धेरै एक्सपोजर दियो त्यति नै राम्रो नतिजा आउने सम्भावना रहेको उनको भनाइ छ । कप्तान इन्दुले नतिजा आउन समय लागे पनि नेपाली महिला टोलीको भविष्य राम्रो रहेको विश्वास व्यक्त गरिन् ।






