पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएकाे छ । आज बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु भएकाे हाे ।
यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जना सहभागी छन् । गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको हो ।
यता, पोखरामा दुई ४१ विद्यालयका १० हजार विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी छन् ।
महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यका अनुसार ७९ सामुदायिक र एक सय ६२ संस्थागत गरी दुई सय ४१ विद्यालयका १० हजार विद्यार्थी एसइई परीक्षामा सामेल भएका हुन् ।
कास्कीका ३६ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको हो । यीमध्ये ३३ वटा परीक्षा केन्द्र पोखरा महानगरपालिका भित्र छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई र माछापुच्छ्रे गाउँपालिकामा एउटा परीक्षा केन्द्र छन् ।
आज पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन् । संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १९ गते सम्पन्न हुनेछ ।






