पोखरा । सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आरोपमा पोखरा महानगरपालिका एक कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाका कपिल गिरी छन् । गिरी महानगरको फाइल फस्र्यौट शाखामा कार्यरत अधिकृत स्तरका कर्मचारी हुन् ।
गिरीलाई न्यूरोडस्थित रक्षा नर्सरीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको आयोगको पोखरा कार्यालयका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।
सेवाग्राहीका बारेमा कृत्रिम उजुरी खडा गरेर अख्तियारमा उजुरी परेको र त्यसलाई मिलाउन एक लाख रुपैयाँ दिनुपर्ने भन्दै गिरीले रकम माग गरेका थिए ।
पाण्डेका अनुसार गिरीले उजुरी परेको फोटो, भिडियो छ भनेर झुक्याउने गरेका रहेछन् । थप अनुसन्धानपश्चात् गिरीलाई २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीलाई बुझाउने उनले बताए ।






