पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेल आइतबार पोखरा आउने भएका छन् । पोखरामा हुने कृषि विकास बैंक कर्मचारी संघ नेपालको १०औँ केन्द्रीय परिषद् उद्घाटन एवं संवोधन गर्न उनी पोखरा आउन लागेका हुन् ।
‘विशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’ भन्ने नाराका आइतबार पोखराको लेकसाइडस्थित होटल पौवामा परिषद् हुन लागेको हो ।
संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीका अनुसार परिषदमा देशभरका छ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।
परिषदले नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ । परिषदका लागि विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा पर्यवेक्षक शनिबार साँझसम्ममा आईपुग्ने कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
परिषदमा भाग लिन आउने प्रतिनिधि तथा पर्यवेक्षकलाई पोखरास्थित विभिन्न होटलमा आवासको व्यवस्था गरिएको उनले बताए ।






