पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजनामार्फत् लगानीको वातावरण सिर्जना गरिने र उपभोक्ताका हितमा काम गरिने बताएका छन् ।
महाप्रबन्धक नियुक्त भएपछि पहिलो पटक पोखरा आएका ढकालले सबै कर्मचारीसँग भएको क्षमता उपयोग गरेर मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए ।
बजेटको अभावमा उपभोक्ताको घरमा पानी नजाने समस्या समाधान गर्ने भन्दै उनले नयाँनयाँ योजना ल्याउन सबै शाखालाई आग्रह गरे । आफूलाई सबै शाखागत उपभोक्ताको ज्ञान नहुने भन्दै ढकालले शाखामा कार्यरत सबै कर्मचारीको भावना, मर्म र विश्वास जितेर योजना बनाउन निर्देशन दिए।
ठूला आयोजना अलपत्र परेको इङ्गित गर्दै उनको सुधारका लागि आफू दौडिने प्रतिवद्धता जनाए ।
खरिद प्रक्रियालाई प्रभावकारी बनाउन, मितव्ययीता अपनाउन, कामै गरेर सुधार गर्न, उपभोक्ताको सेवालाई पहिलो प्राथमिकता दिन, करार, ज्यालादारी र स्थायीबीच फरक नछुट्याउन कार्यालय प्रमुखलाई उनले निर्देशन दिए ।
महाप्रबन्धक ढकालले सबै तहमा कार्यरत कर्मचारीको समान भूमिका हुने भएकाले एक परिवार बनेर सेवा दिन सक्नुपर्नेमा जोड दिए ।
परिवारमा पर्ने समस्या परिवार भित्रै मिलाउने अभियानमा आफू रहेको उनले बताए । उनले भने, ‘हरेक समस्या सिधै मलाई भन्नुहोस्, भन्न नसके शाखा प्रमुख, महाशाखा प्रमुखलाई भन्नुस्, म समस्या समाधान गर्छु ।’ आफूभन्दा माथिल्लो निकायमा जानुपर्ने विषय भए पनि आफू तयार रहको उनले बताए ।
कर्मचारी सेवा, शर्त, विनियमावली संस्थानले प्राप्त गरे पनि नमिलेका, छुटेका तथा कर्मचारीको हितमा आवश्यक पर्ने विषयमा आफू गम्भीर रहेको बताए ।
उनले विगतको सुविधा भन्दा धेरै नयाँ सुविधा थपिएको चर्चा गर्दै प्राप्त उपलब्धीलाई छिट्टै कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।
विनियमावली परिवर्तनशील दस्तावेज भएकाले आवश्यकताको आधारमा थपघट गर्न सकिने उनले बताए ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले विभेदको नीति अन्त्य गरेर अव्बल संस्थान बनाउने अभियानमा साथ दिने बताए । उनले राम्रो कार्यको स्वागत र नराम्रो कार्यको विरोध गर्ने समेत स्पष्ट पारे ।
नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय महासचिव वसन्तराज भण्डारीले सबै मिलेर संस्थानलाई विश्वासिलो र भरपर्दो बनाउनुपर्ने बताए ।
संस्थानका पोखराका प्रमुख आशिष कार्कीले महाप्रबन्धकले दिएको निर्देशन पूर्णरुपमा पालना गरेर उपभोक्ताको सेवा हर समय खर्चने बताए ।
पोखरा शाखाका प्रमुख कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले गरेका थिए ।






