पोखरा । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।
आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताए ।
उनले राजावादी समूहको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको बताए ।
उनले राजावादी मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पतीमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए ।
उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार गर्याे, जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो त्यसबाट उनको लक्ष्य भनेको निरङ्कुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ, मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो, जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पतीमा क्षति पुर्याएका छन् र जसले उत्तेजना फैलाएको छ तिनीहरुलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला ।’
लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ ।
भिडियाे





