पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताएका छन् ।
पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् । प्रशासकीय भवन बनाउन करिब दुई अरब रुपैयाँ लाग्ने उनको भनाइ छ । यसका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले बताए ।
उनका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।
सुविधासम्पन्न कार्यालय भवन निर्माणले प्रशासनिक कार्यलाई चुस्त बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिन मद्दत गर्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे । स्थानीय सरकारको प्रभावकारिता जनता माँझ अझै मजबुत बनाउने लक्ष्यसहित भवन निर्माण गरिएको उनले स्पष्ट पारे ।
आचार्यले भने, ‘कतिपयले वडालाई ठूला भवन किन चाहिन्छ भनेर प्रश्न गर्छन् तर ठूला भवनले नै जनताका सेवा प्रवाहमा सहजता ल्याउँछ ।’
आचार्यका अनुसार अब पोखरामा वडा नं ६ र ९ को भवन बन्न बाँकी छ भने केही वडाका भवन निर्माणाधीन अवस्थामा छन् ।
महानगरमा थपिएका वडाहरुको विकासमा पनि विशेष ध्यान दिइएको आचार्यले उल्लेख गरे ।
उनले भने, ‘विकासका हिसाबले १ देखि १७ सम्मका र अन्य वडा फरक प्रकृतिका छन्, सबै वडालाई एउटै प्रकृतिको बनाउन प्रयास गरिएको छ ।’
आचार्यले पोखराको न्यूरोडलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको समेत जानकारी दिए । पोखराको फोहोर व्यवस्थापन सम्बन्धमा नयाँ वर्षदेखि नयाँ ढंगले नै अघि बढ्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा नगर प्रमुख आचार्यको जन्मदिनसमेत मनाइएको थियो ।
भिडियाे






