पोखरा । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पहिलो जित निकालेको छ । साेमबार भएको खेलमा मुम्वईले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराएको हो ।
खेलमा मुम्बइका अश्वनी एक्लैले चार विकेट लिएपछि कोलकाता एक सय १६ रनमै अलआउट भएको थियो । एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
ओपनर रायन रिकेल्टनले अविजित अर्धशतक बनाए । उनी ६२ रनमा अविजित रहे । सूर्यकुमार यादव २७ रनमा अविजित रहे । विल ज्याक्सले १६ तथा रोहित शर्माले १३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६ दशमलव२ ओभरमै अलआउट हुँदै एक सय १६ रन बनाएको थियो । अंकृश रघुवंशीले सर्वाधिक २६ तथा रमनदीप सिंहले २२ रन बनाए । मनिष पाण्डेले १९ तथा रिंकु सिंहले १७ रन बनाएका थिए ।
मुम्बईका अश्वनीले तीन ओभरमा २४ रन दिएर चार विकेट लिए । दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एक-एक विकेट लिए ।
पहिलो जितसँगै मुम्बईले तीन खेलमा दुई अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । कोलकाता पनि समान खेलबाट समान अंकसहित नेटरनरेटका आधारमा पुछारमा छ ।






