काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित राष्ट्रपति युन सुक-योललाई पदमुक्त गरेको छ । अदालतले आपत्कालीन मार्सल ल लगाएको आरोपमा राष्ट्रिय सभाले लगाएको महाभियोगलाई समर्थन गर्दै युनलाई पदबाट हटाउने निर्णय सुनाएको हो।
संवैधानिक अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ-बेले आठ न्यायाधीशको सर्वसम्मत निर्णय सुनाउँदै युनको महाभियोग प्रस्तावलाई अनुमोदन गरिएको बताए। कानुनअनुसार यो फैसला तत्काल लागू हुनेछ र ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ।
युन, रूढिवादी दलका नेता हुन्। उनी सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई महाभियोगमार्फत पदच्युत गरेपछि जबरजस्ती सत्ताबाट हटाइएका देशका दोस्रो बहालवाला राष्ट्रपति बनेका छन्।
युन देशको संवैधानिक इतिहासमा राष्ट्रिय सभाद्वारा महाभियोग लगाइने तेस्रो राष्ट्रपति हुन्। यसअघि सन् २००४ मा उदारवादी राष्ट्रपति रोह मु-ह्युनलाई महाभियोग लागेको थियो, तर पछि उनी पदमा पुनर्स्थापित भएका थिए।
युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपत्कालीन मार्सल ल घोषणा गरेका थिए, जसलाई विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि खारेज गरेको थियो।
युनको महाभियोग प्रस्ताव गत वर्ष डिसेम्बर १४ मा पारित भएको थियो र संवैधानिक अदालतमा फेब्रुअरी २५ सम्म ११ वटा सुनुवाइ भएका थिए। अदालतले अन्तिम फैसला सुनाउन १११ दिन लगाएको थियो।






