पोखरा । पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीत गुञ्जिएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ मा न्यौपानेका डेढ दर्जन बढी गीत गुञ्जिएका हुन् ।
सांगीतिक साँझमा न्यौपानेले सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुँदैनसहितका १८ गीत गाए ।
२०६६ को चैत २२ गते पोखरा सभागृहमा ‘पुरुषोत्तम न्यौपाने एकल साँझ’ भएको थियो । ठ्याक्कै १५ दिनपछि सोही ठाउँमा पुरुषोत्तम गुञ्जिएका हुन् ।
कार्यक्रममा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । योसँगै उनलाई प्रतिष्ठानले सम्मानसमेत गरेको थियो ।
विसं. २०२९ मा स्याङ्जामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल भएका छन् ।
झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् ।
न्यौपानेले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए ।
स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् ।
उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए ।
प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् ।
प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाँझी सांगीतिक साँझ’ आयोजना गरेको थियो । बर्सेनि एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजना छ ।
नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गीत, कला, साहित्यको माध्यमबाट समाजलाई सभ्य बनाउन सकियो भने मात्रै मानिस सुखी हुने बताए ।
उनले सुखी समाज, समृद्धि समाज बनाउनका लागि लोक गीतको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
अग्रज कलाकारको सम्मान र लोक कला संरक्षण गर्ने उद्देश्यले सांगीतिक साँझ आयोजना गरिएको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् ।






