प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र एमालेको नेतृत्वमाथि हमला गर्ने काम भइरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा मन्त्रीले राजीनामा गर्दा प्रधानमन्त्रीले असहयोग ग¥यो भन्नेजस्ता भ्रमहरु फैल्याएको जिकिर गर्नुभयो । उहाँले जसरी पनि नेतृत्वमाथि हमला गर्ने काम गरिरहेको र यसको नेतृत्व फटाहहरुले गरेको बताउनु भयो । उहाँले आफ्नो नागरिकताको नाम खड्गप्रसाद ओली होला भन्ने सोचेर विदेश (कम्बोडिया) मा लगानी गरेको भन्ने बिलमा खड्गप्रसाद ओली लेखेको बताउनु भयो । उक्त बिलबाटै उनीहरु पराजित भएको (खुस्किएको) प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा मन्त्रीले राजीनामा गर्दा देख्नुभयो, प्रधानमन्त्रीले असहयोग गरेर कहाँबाट थाहा पायो । प्रधानमन्त्रीले असहयोग गरेको । प्रधानमन्त्रीले सहयोग गरेर, अनेक ढंगले अघि बढाउन खोजेको देखेन । असहयोग गरेको भन्छन् । जसरी होस् लिडरसिपमाथि हमला । जसरी होस् लिडरसिपलाई कमजोर पार्ने । लिडरसिपको बिरुद्ध जहिलेसुकै पनि लेख्ने, बोल्ने यस खालका कामहरु । सधैँ विभिन्न प्रकारका आरोपहरु । झुटो आरोपहरु । झुटा बिलहरु पनि देखाउने । उनीहरु कतिसम्म झुक्किए भने मैले केपी शर्मा ओली भन्ने गरेको । मेरो नाम चाहीँ खड्गप्रसाद ओली हो । नागरिकतामा त्यही होला । त्यसो भएर त्यहाँको पैसा राखेको बनाउँदा त नागरिकताअनुसार, पासपोर्टको नामअनुसार बनाएको हुन्छ । त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाममा बनाएर, बाठो भएर । बिना नागरिकता, बिना पासपार्ट त राख्दैन । नक्कली नाममा त राख्दैन । त्यहीँ विचराहरु खुस्किए । यस्ता फटाह कुराहरु गर्न जानि जानि बाहेक । नजानिकन यस्तो हुन्छ । यि फटाह काम गर्नेहरु स्थापित फटाहहरु छन् । चिनिएका, जानिएका, मानिएका । त्यस्ताहरुकै अगुवाईमा, नेतृत्वमा यि कामहरु भएको छ ।’
प्रधानमन्त्री ओलीले समाजवाद सिध्याउनका लागि यि कामहरु भइरहेको बताउनु भयो ।






