पोखरा । पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल अम्मरेश्वर शिवालयमा संस्थापक अनन्त श्री स्वामी शंकरानन्द गिरीजी महाराजको शालिक अनावरण गरिएको छ ।
पोखरा-१९ काउरेस्थित शिवालय परिसरमा स्थापना गरिएको अर्धकदको शालिकको बुधबार एक कार्यक्रमका बीच महेश संन्यास आश्रम देवघाटका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीले अनावरण गरे ।
कार्यक्रममा पिठाधीश गिरीले यस क्षेत्रको धार्मिक जागरण फैलाउन शंकरानन्द महाराजको भूमिका अतुलनीय रहेको बताउँदै उनको शालिक अनावरण गर्न पाउँदा आफू धन्य भएको बताए ।
कार्यक्रममा पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, धार्मिक व्यक्तित्व तिलक बास्तोला, नीलकण्ठ बास्तोला, कमल बास्तोला, शंकरानन्द महाराजका नाति साहित्यकार शालीग्राम आचार्य, पनाति श्यामसुन्दर आचार्य, शिवालयका पुजारी राम गिरी, भरत गिरीलगायतले अम्मरेश्वर शिवालयको स्थापनामा उनले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
रमणानन्द गिरी सो आश्रमको समेत पिठाधीश छन् । उक्त शालिक गिरी महाराजका सन्ततिले निर्माण गरेका हुन् ।






