पोखरा । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गर्नुभएको छ ।
नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताउनु भयो । गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताउनु भयो । सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरुले समस्या खडा गर्ने काम गरेको उहाँको भनाइ छ । उहाँले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानून निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भुमिका खेल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले गैरआवासीय नेपाली नागरिकता त वितरण गरिरहेका छौँ । तर हामीले गैरआवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागकिरता नागरिकता जस्तैको अनुभव गर्न पाउनुभएको छैन साथीहरुले । मैले बुझेको । हुन त पाइसक्नुभएका साथीहरुले कस्तो अनुभव गर्नुभएको छ आफ्नो ठाउँमा होला । तर मैले बुझ्दै गर्दा अनुभव गर्दाखेरी जसले गैरआवासीय नागरिकता लिइसक्नुभएको छ उहाँहरुले त्यसको खासै अनुभव गर्न पाउनुभएको छैन व्यवहारमा । किनभने उदाहारणका लागि गैरआवासीय नागरिकता लिनु हुन्छ अनि यहाँ एउटा टुक्रा जग्गा लिनुप¥यो भने त्यो नागरिकताले काम गर्दैन, त्यसमा परराष्ट्र मन्त्रालय जाउ, भूमिसुधार मन्त्रालय जाउ भन्छ । अनि कहाँ घुम्ने हो ? एक टुक्रा जग्गा लिन त यति दुःख हुन्छ भने ठूलो उद्योग खोल्न खोज्यो भने के होला हालत ? हामी भन्छौँ गैरआवासीय नेपालीलार्य यहाँ आउनुहोस् उद्योग धन्दा खोल्नुहोस् तर अर्कोतिर समस्या छ । सानोतिनो काम गर्न पनि उताबाट यता जाउँ भान्छ यताबाट उता जाउ भन्छ । त्यसकारण यस्ता विषयहरु पनि यहाँ निश्चित रुपमा छलफल हुनेछ । हामीले गैरआवासीय नेपालीहरुलाई लगानीमैत्री वातावरण बनाउनु आवश्यक छ हामीले । लगानीमैत्री कानून बनाउन कुनकुन कहाँ छलफल गर्नुपर्ने हो गरौँ ।
उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।






