पोखरा । चिलीमा ७दशमलव५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा भूकम्प गएको बताइन्छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समयअनुसार सुनामीको चेतावनी जारी गरेका छन् ।
अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट दुई सय १९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट दुई सय १९ किलोमिटरको दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो ।
“कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित स्थलमा जानुहोला,” चिलीको विपद् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन् । चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७दशमलव५ रेक्टर स्केलभन्दा केही तल ७दशमलव४ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।
स्थानीय समयानुसार बिहान ९ः५८ बजे भूकम्प गएको थियो भने त्यसपछि कैयौँ साना पराकम्पन पनि रेकर्ड गरिएको थियो। दक्षिण अमेरिकाको दक्षिणी टुप्पोमा अवस्थित म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ ।
अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भनेको छ, “भूकम्पको धक्का मुख्यतया उसुइया शहर र केही हदसम्म टिएरा प्रान्तका अन्य शहरमा महसुस गरिएको थियो।”
“भूकम्पका कारण भौतिक क्षति वा मानिस प्रभावित भएको खबर तत्काल प्राप्त भएको छैन,” विज्ञप्तिमा भनिएको छ । चिली भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो । नाज्का, दक्षिण अमेरिकी र अन्टार्कटिसहितका तीन टेक्टोनिक प्लेट यसको क्षेत्रभित्र समाहित छन् ।






