पोखरा । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ ।
जसको प्रभावले पोखरामा रातिदेखि नै वर्षा भइरहेको छ । आज दिनभर बादल लाग्ने र छिटपुट वर्षा हुने आकलन गरिएको छ ।
पोखरामा आज बिहानको तापक्रम २४ डिग्री सेल्सियस र सापेक्षिक आद्रता ६१ प्रतिशत रहेको छ ।
आज गण्डकी, कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।
यसैगरी देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागको एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।






