पोखरा । पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई तीन दिन प्रहरी हिरासतमै राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।
वडाध्यक्ष पराजुली रक्सीले मातेर पोखरा महानगरको प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल र पोखरा-४ सर्वेश्वर मार्गका व्यवसायी लेखनाथ सुवेदीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बुधबार पक्राउ परेका थिए । पराजुलीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि तीन दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।
मंगलबार महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै अधिकृत पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए। त्यसैदिन फुटपाथमा सामान राखेको विषयमा विवाद हुँदा उनले व्यवसायी सुवेदीमाथि पनि हातपात गरेका थिए।
घटनापछि आक्रोशित हानगरका कर्मचारीले सेवा प्रवाह बन्द गरेका थिए । उता, व्यवसायी सुवेदीले पराजुलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो ।
पराजुलीलाई कानूनअनुसार हदैसम्मको कार्वाही गर्न माग गर्दै सर्वेश्वर र पराजुली मार्गका व्यवसायीले पोखरा-४ को वडा कार्यालय घेराउ एवं नारावाजी गरेका थिए । व्यवसायीले आफूहरुले जनप्रतिनिधिबाटै सुरक्षाको खतरा महसुस गरेको बताएका छन् ।
वडाध्यक्ष पराजुलीको यस्तो हर्कतप्रति थोक व्यवसायी संघ कास्कीले पनि आपत्ति प्रकट गर्दै कडा कार्वाहीको माग गरेको छ । साथै व्यवसायीको सुरक्षाको मागसमेत संघले गरेको छ ।
पराजुली नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष हुनु अघि पनि उनले रक्सीको मातमा वडा कार्यालय तोडफोडसमेत गरेका थिए ।






