पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले कास्कीका विभिन्न राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् ।
पाेखरा महानगरपालिका वडा नं ९ ले घर जग्गा खाली गराउन सूचना जारी गरेपछि उनीहरुले राजनीतिक दलसँग छलफल गरेका हुन् । उनीहरूले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।
विस २०३६ सालदेखि बसोबास गरेकालाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन वडा कार्यालयले गत बैशाख २ गते पत्र काटेको थियो ।
त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममाा दर्ता भएको भन्दै खाली गरिदिन वडा कार्यालयले पत्र काटेको थियो । कित्ता नम्बर १७२ को कुल ११५ रोपनीमध्ये ७२ रोपनी जग्गा पछि दर्ता भएको पाइएको छ ।
पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५औं दिनमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न दलका नेताले सुकुम्बासी समस्या समाधानका लागि प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य निर्मल नेपालीले सबै दल पटकपटक सरकारमा सहभागी भए पनि समस्या समाधान गर्न चासो नदिएको बताए । भूमि अधिकारकर्मी नेपालीका अनुसार सुकुम्बासी समस्याका आडमा धनी पुँजीपतिलाई जग्गा दिने काम गरिएको छ ।
नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले चुनावका बेलामा पार्टीले सुकुम्बासीलाई झुक्याएको भन्दै अबका दिनमा समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । उनले सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो पार्टी सँधै लागि पर्ने प्रतिवद्धता जनाए ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले समस्या समाधान नुहुनुमा कुनै एउटामात्र दललाई दोष दिएर उम्कन नमिल्ने तर्क गरे । विगतमा सबै दल सरकारमा सहभागी भएको तथ्य स्मरण गराउँदै अबका दिनमा सबैको सहकार्यमा कार्य सम्पन्न गरिनुपर्ने नेता बरालको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका महामन्त्री वरुणविक्रम राणाले सत्तारुढ दलहरुको अकर्मण्यताका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको दावी गरे । प्रधानमन्त्रीले चाहने हो भने छ महिनाभित्र सुकुम्बासी समस्या समाधान हुने उनको तर्क छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष राजु राईले सत्तारुढ दलसँग संसदमा दुई तिहाइ बहुमत रहेकोले सुकुम्बासी बारे आवश्यक निर्णय गर्न कुनै समस्या नहुनु पर्ने जिकिर गरे ।
सत्तारुढसहित अरु दल सुकुम्बासी समस्या समाधान भए भोट बैंक समाप्त हुने भयबाट त्रसित भएको भन्दै आवश्यक निर्णय गरेर देखाउन रास्वपा नेता राईले चुनौति दिए ।
माओवादी केन्द्रका नेता भीम नेपालीले सुकुम्बासीका पक्षमा आफ्नो पार्टी सदैव लागि रहने भन्दै समस्या समाधान नभइकन कसैलाई पनि घरजग्गाबाट उठिबास नगर्न चेतावनी दिए ।
राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकी अध्यक्ष रामबहादुर लामिछानेले गणतन्त्र आए पनि जनताको घरमा लालपुर्जा नआएको तर्फ सबै राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।
मञ्चका जिल्ला अध्यक्ष प्रेम गुरुङले पटकपटक भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोग गठन गरे पनि कास्कीमा समस्या ज्यूँका त्यूँ रहेकाले सरकार असफल बनेको जानकारी दिए ।
कार्यक्रममा कास्कीका विभिन्न वडा तथा टोलमा भूमिहीन र अव्यवस्थित बसोबासीले भोगेका समस्या बारे सहभागीले राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका थिए ।






