पोखरा । पोखरा महानगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिने भएको छ ।
नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालिबालिकाले तोकिएका खोप प्राप्त गरेको सुनिश्चिततासहित यस्तो घोषणा गर्ने गरिन्छ ।
महानगर स्वास्थ्य व्यवस्थापन समिति र खोप समन्वय समितिको संयुक्त बैठकले नगर क्षेत्रका खोप लगाउनुपर्ने बालबालिकालाई खोप लगाएको सुनिश्चित गरेपछि सोमबार महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्न लागिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताए ।
उनका अनुसार सोमबार बिहान ११ बजे एक समारोहका बिच पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिनेछ ।
नगर प्रमुख धनराज आचार्यले बालिबालिकाको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका स्वास्थ्यसम्बन्धी सेवा समयमा नै उपलब्ध गराउनु पर्ने बताए ।
बालबालिकाका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
स्वास्थ्यसम्बन्धी अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको स्मरण गर्दै उनले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूले महत्त्वपूर्ण योगदान गरेको बताए ।
विगत एक वर्षको अवधिमा १५ महिनाभित्रका पाँच हजार तीन सय ४१ र १६-२३ महिनासम्मका चार हजार एक सय ५० बालबालिकाको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले बताए ।
अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ ।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोप, सबै बालबालिकाले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोप थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरको बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।






