जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शिघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
“संघीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम” अन्तर्गत संघीय संसदको राष्ट्रियसभामा मधेश प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्रीले यस्तो धारणा व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताए ।
समायोजन भएका कर्मचारीमध्ये ११औं तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने उनले बताए ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाउनुभएको उदाहरण दिँदै मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र संघीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताए ।
मुख्यमन्त्रीले मधेस प्रदेशमा रासायनिक मल तथा बीउ विजनको आवश्यकता बढी भएपनि मलको कोटा न्युन रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसंख्याको आधारमा वितरण गर्नुपर्ने मागसमेत गरे । -न्युज एजेन्सी नेपाल






