पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरीका ५० घरपरिवारलाई विद्युतीय चुल्होसहित आवश्यक भाडा वितरण गरेको छ ।
रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले दुई हजार वाटको विद्युतीय चुल्हो, तीन लिटरको प्रेसर कुकर, दिउरी र कराईसहितको सेट सहभागीमध्ये ज्येष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनुपर्ने सुझाव दिदै ग्याँस र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत बताए ।
पोखरा महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष हिमलाल बरालले रोटरी क्लबसँग सहकार्य गरेर आफ्नो वडालाई धुवामुक्त भान्सा बनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको बताए ।
उनले वातावरण जोगाउँदै स्वस्थ रही आफ्नै देशमा उत्पादन भएको बिजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको बताए ।
क्लब ध्यक्ष दीपेन्द्र शर्माले आगामी वर्ष पोखरा २२ का सबै घर धुरी धुँवा मुक्त बनाउन सबै वडावासीलाई विद्युतीय चुल्हो तथा अन्य आवश्यक किचन सामग्री वितरण गर्ने योेजना रहेको बताए ।
क्लब अध्यक्ष दीपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पूर्व अध्यक्षहरु सुवास सिग्देल, गीता सिग्देल, कार्यक्रम संयोजक प्रेमप्रसाद शर्मा, सचिव वर्षा केशव पराजुलीलगायतले बोलेको थिए ।






