पोखरा । पोखरामा भएकाे पाँचौं ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र-छात्रा टी-२० क्रिकेट प्रतियोगिताकाे उपाधि दुवैतर्फ अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवैतर्फ प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले उपाधि चुमेको हो ।
छात्रतर्फ को फाइनल खेलमा अमरसिंहले बाराहीलाई दुई विकेटले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो ।
टस जितेर ब्याटिङ गरेको बाराहीले निर्धारित १८ ओभरको खेलमा सम्पूर्ण विकेट गुमाएर एक सय दुइ रन बनाएको थियो । बाराहीको ब्याटिङमा सबिन बिकले १८ बलमा २१ रन बनाए भने आयुष सुनारले १३ रन जोडेका थिए । अमरसिंहका बलर स्मित कणेलले तीन विकेट लिए ।
जितका लागि एक सय तीन रनको लक्ष्य पछाएको अमरसिंहले आठ विकेटको क्षतिमा जित हासिल गर्न सकेको हो । अमरसिंहका लागि आतिफ मियाले १८, विस्तृत गिरीले १६ रन जोडे । बाराहीको बलिङमा अभिषेक अधिकारी र विवेक विकले समान दुइ विकेट लिए । फाइनल खेलमा तीन विकेट लिएका बाराहीका स्मित कँडेल प्लेयर अफ द म्याच बने ।
यता, छात्रातर्फ पनि अमरसिंह मावि सात विकेटले विजयी भएको हो । अमरसिंहले टस जितेर बलिङ रोजेको थियो । बाराहीले १० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३८ रन मात्रै बनाउँदा हिरा मगरले सर्वाधिक पाँच रनको योगदान दिइन् ।
बाराहीलाई सस्तैमा समेट्न प्लेयर अफ द म्याच बनेकी अमरसिंहकी सोफिया गुरुङले ६ विकेट लिइन् । अमरसिंहले ५.३ ओभरमा मात्रै ३ विकेटको क्षतिमा जित निकालेको थियो । अमरसिंहका लागि चन्द्रमाया बरालले १२ बलमा १९ तथा रक्षा फगामीले ११ रनको पारी खेलिन् । बाराहीका बलर सोनीमा मगरले २ विकेट लिएकी थिइन् ।
प्रतियोगितामा छात्रतर्फ बाराहीका अभिषेक अधिकारी सर्वोत्कृष्ट खेलाडी सहित सर्वोत्कृष्ट बलर भए । सम्राट अधिकारी बेस्ट ब्याटर भए । सोनिमा मगरले सर्वोत्कृष्ट खेलाडीको उपाधि हासिल गरिन् । श्रद्धा गुरुङ बेस्ट ब्याटर तथा सोफिया गुरुङ बेस्ट बलर घोषित भइन् ।
प्रतियोगिताको विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु पाँच हजारसहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।






