पोखरा । पोखरा महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागितामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको छनौट खेल सम्पन्न भएका छन् ।
महानगर क्षेत्रमा एक सय बढी विद्यालयका ३ बढी विद्यार्थीहरूको सहभागितामा प्रतियोगिताको छनौट खेल सम्पन्न भएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए । उनका अनुसार भलिबल, कराँते, उसु, टाइक्वान्डो, कबड्डी र एथलेटिक्सलगायतका विधामा खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने नगरप्रमुख धनराज आचार्यले बताए ।
“कुनै पनि व्यक्तिको उज्ज्वल र सफल खेल जीवनको प्रारम्भ विद्यालय तहदेखिकै खेलकुदका गतिविधिमा उसको सक्रियता, सहभागिता र उत्सुकताले निर्धारण गर्दछ’, नगर प्रमुख आचार्यले भने, ‘पोखरा महानगरपालिका विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पर्याप्तता अवसरहरूको सृजनामा प्रतिबद्ध छ ।”
सबै प्रकारका खेल गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने कार्यमा महानगरपालिका निरन्तर लागिरहेको उनले बताए ।
विद्यार्थीलाई एकता एवं सामूहिकताको भावना जागृत गर्दै स्वस्थ नागरिक निर्माणका लागि खेलकुदका क्रियाकलाप निरन्तर सञ्चालन गर्नु पर्नेमा सरोकारवाला एवं शिक्षा अधिकारीले जोड दिएका छन् । प्रतियोगिताबाट छनाेट भएका विद्यार्थीले राष्ट्रपति रनिङ् शिल्डका अन्य इभेन्टस्मा सहभागिता जनाउने छन् ।






