पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आज बिहानैदेखि वर्षा भइहेको छ ।
पोखरामा आज बिहान ४ः३० देखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बिहान करिब ५ बजे केही बेर भारी वर्षा भएको पोखरामा अहिले हल्का वर्षा भइरहेको छ ।
मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान ८ बजे यो समाचार तयार गर्दै गर्दा पोखरामा वर्षा जारी छ भने तापक्रम २९ डिग्री सेल्सियस रहेको छ ।
आज तापक्रम घट्दै २३ डिग्री सेल्सियससम्म झर्ने दिनभरि हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
देशभर के-के होला ?
गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा वर्षा भइरहेको छ ।
आज बिहान गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
साथै गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने गण्डकी, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।






