पोखरा । पोखराका एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारमा फँसाउन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभा सभापोखरी गाउँपालिका वडा नं २ का ४० वर्षीय टेकबहादुर सुवेदी छन् ।
प्रहरीका अनुसार राई पोखरा महानगरपालिका वडा नं ४ स्थित एक सुनचाँदी पसलमा काम गर्दै आएकी थिइन् । उनले लिम्बु र सुवेदीसँग मिलेर आफ्नै साहुलाई यौन दुर्व्यवहारमा फँसाउने धम्कीसहित ५० लाख रुपैयाँ माग गरेकी थिइन् ।
साथै राईले सुन पसल सञ्चालककी श्रीमतीलाइ लेकसाइडस्थित एक होटलमा बोलाई ‘जिन्दगीभर पुग्ने धन सम्पति, बस्ने घर तथा व्यवसायका लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौँ’ भन्ने धाकधम्की दिएको र ५० लाख मागेकी थिइन् ।
घटनाको सूचना पाएको प्रहरीले तीनै जनालाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार उनीहरुलाई अडियो र आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी विभिन्न कागजातसहित पक्राउ गरिएको हो ।
उनीहरुविरुद्ध जिल्ला अदालतमा आपराधिक विश्वातघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए ।






