पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा आजदेखि राति सवारी आवागमन बन्द गरिने भएको छ ।
सो सडकखण्ड स्तरोन्नतिका लागि राति सवारी आवागमन बन्द गर्न लागिएको नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालले जानकारी दिए ।
नेपालका अनुसार आजदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द हुनेछ । राति १०ः३० देखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने उनले जानकारी दिए ।
सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।
बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको उनले बताए ।
मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधन मुग्लिन र हलुका सवारीसाधन कुरिनटारमा रोकिने छन् ।
यसैगरी मलेखुबाट मुग्लिनतर्फ आउने भारी सवारीसाधन मलेखु र हलुका सवारीसाधन शितल बजारमा रोकिनेछन् ।
रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।






