पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ ।
कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । कोटिहोममा आज देखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिएको छ। विभूति, तिलक र प्रसाद लिन भक्तजनको भिड लागेको थियो ।
त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार आज वितरण गरिएको छ । प्रतियोगितामा देविस्थान भजन समूह पोखरा-२५ हेमजा प्रथम हुँदै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्दा माछापुच्छेे सेवा समाज पोखरा-२५ हेमजा द्वितीय हुँदै २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
त्यस्तै बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा-१७ तृतीय भएर १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्दा राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना हुँदै ६५÷६५ हजार प्राप्त गरे ।
त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।
त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भएका थिए । यी सवै समूहले नगद २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । विजयी समूहलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पुरस्कार प्रदान गरेका थिए ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गरिरहेकी छन् । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोमको विधिवत् समापन भने भोलि हुने छ ।






