पोखरा । सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजना तथा सहकारी बैंकको सहकार्यमा सहकारी संस्थाको स्तरीकरण र विकासका लागि पोखरामा समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारी संस्थालाई सक्षम र सवल बनाउने मुख्य भूमिका रहने गरी सहकारी सञ्चालनको बारेमा बृहत छलफल भएको थियो ।
सहकारी स्तरीकरणका लागि कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन, ऐन नियमको पालना, शेयर सदस्यप्रति जिम्मेवारी, पूँजीकोष, निष्क्रिय सदस्यलाई व्यवस्थापन स्थिर सम्पत्ति व्यवस्थापनमा सहकारीले लाग्नुपर्ने धारणा पारित गरिएको राष्ट्रिय सहकारी र्बैक गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले बताए ।
राज्यका नीति अनुरुप सहकारीको आर्थिक मेरुदण्डको मुख्य खम्बा रहेको सहकारीका कारण बजारमा आर्थिक चलायमान भइरहेको परिपेक्षमा केही न्यून सहकारीको कारण सिङ्गो सहकारी क्षेत्रप्रति नकारात्मक सोचलाई सकारात्मक बनाउनुपर्नेमा पाण्डेले जोड दिए ।
सहकारीको माध्यमले बचतको माध्यमबाट जन्मदेखि मृत्युसम्म सुख, दुःखको मित्रको रुपमा सहकारीलाई अन्तर्राष्ट्रिय रुपमा हेरिएको उदाहरणलाई समेत आत्मासाथ गर्दै मेरो सहकारी राम्रो सहकारीको नीति अवलम्वन गर्न सबै सहकारी इमान्दरपूर्वक लाग्नुपर्ने सहभागीको धारणा थियो ।
राष्ट्रिय सहकारी बैंकमार्फत सहकारी संस्थाको अवस्था, प्रशिक्षण प्राविधिक शिक्षासहित आवश्यकता अनुसार कर्जा प्रवाहसमेत गरी सहकारीको स्तरीकरण गर्न देशैभर स्तरीकरण समीक्षा गोष्ठी गरिँदै आएको सहजकर्ता, सहकारी प्रशिक्षक सूर्यप्रसाद रिमालले बताए ।
सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रम र समापन शुभकामना सहकारीका अध्यक्ष गायत्री शर्माको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा संंस्थागत रुपमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख मोहनप्रसाद अधिकारीे, लेखनाथ सामुदायिक सहकारी संस्थाका प्रमुख शंखर पौडेल, बुद्ध बचत तथा ऋण सहकारीका प्रमुख नारायण तिवारी, जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रमुख सुशिल केसी, जय गणेश बचत तथा ऋण सहकारीका प्रमुख अशोक बस्नेत, शुभकामना बहुउद्देश्यीय सहकारीका प्रमुख मूर्तिमंगल रिमाल, उपकार बचत तथा ऋण सहकारीका प्रमुख दिनेश तिवारी र सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सुरेन्द्र थापाले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गोष्ठीमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठ, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेललगायतले बोलेका थिए ।
समीक्षा गोष्ठीमार्फत संस्थालाई परिणाममुखी बनाउन आम सहकारी बीचको एकतालाई कायम गर्दैै सहकारी संघ संस्था सक्रिय हुने निष्कर्षसहित कार्यक्रम समापन गरिएको थियो ।






