पोखरा । पोखरामा आजदेखि प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुँदैछ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा हुने राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताकाे सबै तयारी पूरा भएको छ ।
प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा हुनेछ । प्रतियोगिताको प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ भने सह-प्रायोजकमा बुल्समेन क्लब रहेकाे संघका अध्यक्ष केशव पाठकले जानकारी दिए ।
प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । जसमा आयोजक गण्डकीसहित बागमती, मधेश, लुम्बिनी र कर्णाली प्रदेश, विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल आर्मी क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्णसिंह बस्नेतले जानकारी दिए ।
नेपालमा ह्याण्डबल खेलको विकासको गति ठप्प रहेकै बेला चार वर्षको अन्तरालमा यो प्रतियोगिता हुन लागेको हो ।






