पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा गएराति हल्का वर्षा भयो । पोखरामा राति ११ बजेदेखि शुक्रबार बिहान करिब ४ बजेबीच वर्षा भएको थियो ।
अहिले बिहान करिब ७ बजे पोखराको मौसम धुमिल रहेको छ । पोखरामा आज बिहान करिब ८ देखि ९ बजे र करिब दिउँसो २ बजे र ४ बजे वर्षाको सम्भावना रहेको बताइन्छ । वर्षा फरकफरक स्थानमा मध्यम, भारीदेखि धेरै भारीसम्म हुनसक्ने बताइन्छ ।
बिहान बिहान २३ डिग्री रहेको पोखराको तापक्रम बढेर दिउँसो करिब १ बजे तिर ३२ डिग्री पुग्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशकै लमजुङ जिल्लामा बिहीबार राति करिब ११ः२० बजे मध्यमदेखि भारी वर्षा भएको छ । लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यता, देशभर मनसुनी वायुको प्रभाव रहेको यसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ ।
देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने देशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात, गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका तराईका भूभागका तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
आज राति गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






