कास्की जिल्ला खो-खो संघको आयोजनामा तथा टाइम्स एजुकेशनलको मुख्य प्रायोजनमा पोखरामा अन्तरविद्यालय स्तरीय खो-खो प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल भदौ १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन गरिने आयोजकले बताएका छन्। “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा कास्की जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरूको सक्रिय र उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता सफल र व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ जसमा लक्ष्मण काकी प्रतियोगिता संयोजक, सञ्जय पौडेल आर्थिक संयोजक, चित्र बहादुर थापा पुरस्कार व्यवस्थापन संयोजक, सुरज पोखरेल प्रचार प्रसार संयोजक, ममता घर्तीमगर स्वागत तथा मञ्च व्यवस्थापन संयोजक, विशाल गुरुङ प्राविधिक संयोजक र रेबन अधिकारी स्वयंसेवक परिचालन संयोजक रहेका छन्। यो प्रतियोगिता गण्डकी प्रदेश खो-खो संघको पर्यवेक्षणमा र जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोगमा सञ्चालन हुने छ।
टाइम्स एजुकेशनलका सञ्चालक प्रेम सुवेदीले प्रतियोगिताका बारेमा भने, “शिक्षासँगै खेलकुदको समन्वय अत्यन्त आवश्यक छ। विद्यार्थीहरूको समग्र विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुन्छ। यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य, अनुशासन र आत्मविश्वासको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छौं।” आयोजकहरूले विद्यालयस्तरमा खेलकुद प्रवर्द्धनसँगै विद्यार्थीहरूमा अनुशासन, खेल भावना, स्वस्थ प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वको चेतना अभिवृद्धि हुने विश्वास लिएका छन्।






