शपथलगत्तै केशर पुस्तकालय रहेको केशरमहल पुगेर कार्यभार सम्हालेका शिक्षामन्त्री महावीर पुन ले वैज्ञानिक खोज तथा अनुसन्धानको विकासका लागि एक समिति बनाउने निर्णयमा हस्ताक्षर गरेका छन्।
कर्मचारीले ल्याएको प्रस्तावमा प्रारम्भमा उनले हस्ताक्षर गर्न मानेका थिएनन्। तर समिति पछि बन्ने, त्यसका लागि बजेट समय तय भइसकेको र अहिले क्षेत्राधिकार मात्रै तय गर्ने प्रस्ताव रहेको बताएपछि उनले हस्ताक्षर गरे।
मन्त्री पुनले विज्ञान मन्त्रालय आफूले लामो समयदेखि देखिरहेको भए पनि उक्त मन्त्रालयले “काम गर्न नसकेको” पदभार ग्रहणपछि पकारहरूसँग बताए।
यसअघि युवालाई ‘जे सुकै गर’ भन्ने सुझाव दिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री पुनले आफ्नो विवेकले काम गर्न युवाहरूलाई भनेको बताए।
“‘जे सुकै गर’ भनेर ‘सुतिराख’ भनेको होइन क्या। ‘जेसुकै गर, आफ्नो बुद्धिले गर, अर्काको झोला बोकेर नहिँड, चाहे आफ्नो लागि गर, समाजको लागि वा देशको लागि गर’,” उनले आफ्नो भनाइबारे स्पष्टीकरण दिँदै भने।
शिक्षामन्त्री पुनले विद्यालय शिक्षा ऐनका विषयमा आफूले विज्ञहरूको सल्लाहअनुसार मात्रै निर्णय लिने बताएका छन्।
“शिक्षा ऐनबारे थाहा छैन, कस्तो ऐन बनाएको हो, के गरेको हो, विज्ञहरूको टोली बनाउँछु, उहाँहरूले के कस्तो सल्लाह दिनुहुन्छ। विज्ञहरूको सल्लाहअनुसार निर्णय लिने हो,” उनले भने।
संसद्मा अन्तिम चरणमा रहेको विद्यालय शिक्षा विधेयक पारित नहुँदै प्रतिनिधिसभा विघटन भएको थियो।
शिक्षामन्त्री पुनले विज्ञहरूको सल्लाह सुझावका आधारमा आफूले काम गर्ने बताएका छन्।






