जनकपुरधाम। झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहेको छ । यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।
बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमुना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई सङ्केत गर्दछ । महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ । त्यसै कारण सो घैँटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा गरिन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिको सुरक्षा हुने जनविश्वास रहेको सांस्कृतिकविद् डा रेवतीरमण लाल बताउँछन् ।
झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकोमा राखी नृत्य गर्ने गरिन्छ ।
झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैँटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो । समाज रूपान्तरणको सँगै लोकनृत्यहरू गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवन्त राख्नका लागि भए पनि वर्षेनी झिझिया नृत्यको आयोजना गरिन्छ ।
गाउँघरमा यो नृत्यले निरन्तरता पाइरहँदा सहरबजार समेत अछुतो रहन सकेको छैन ।
जनकपुरधाममा अहिले प्रत्येक राति समूह समूहमा महिलाहरू झिझिया नृत्य गरिरहेको त्यसै देख्न सकिन्छ । दसैँको समयमा विभिन्न क्लबकै पहलमा झिझिया नृत्यको आयोजना गरिँदै आएको छ ।
समाजमा प्रचलित जनविश्वासअनुसार बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर श्मशानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्ने गर्छन् । दसैँको समय बोक्सीको सिद्धी प्राप्त गर्नका लागि उचित समय भएको हुनाले बोक्सीका घटना बढी हुने गरेको मानिन्छ ।
घटनामा वृद्धि हुन थालेपछि महिलाले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना सखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको मुख्य उद्देश्य रहेको छ ।
यसको अर्को उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु पनि हो । झिझिया नृत्य गर्दै गाइने गीतमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीत पनि गाइन्छ ।
त्यसमा प्रत्येक दसैँमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृङ्गार डोलीमा सवारीको गन्तव्यको सजीव चित्रण गरिएका गीत गाइने गरिन्छ ।






