भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डासहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनपछि मानव अधिकारको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको छ । शुक्रबार आयाेगले एक प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर अनुगमन गरिरहेकाे जनाएकाे हाे।
घटना हुनु पूर्व घटना हुनसक्ने सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रदर्शनको पहिलो दिनको पूर्वान्हमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्यान्हपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयाेगले जनाएकाे छ ।






