उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको फाइनलमा स्थान बनाएको छ । कीर्तिपुर भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीवार विराटनगर किङ्सलाई ४० रनले हराउँदै एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो । एनपिएलमा पहिलोपल्ट प्लेअफमा पुगेको लुम्बिनी फाइनलमा पुग्दा विराटनगर भने असफल भयो । लगातार पाँचौं जितपछि लुम्बिनी उपाधिका लागि एक कदम मात्र पछि छ । लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दै विराटनगरसँग भेट पक्का गरेको हो । काठमान्डुविरुद्ध उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । विराटनगरसँग पनि लुम्बिनीले उत्कृष्ट बलिङ लय जारी राख्यो ।






