अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा तीनवटा जहाजहरूमाथि घातक आक्रमण गरेको जनाएको छ । जसमा ८ जना पुरुषको मृत्यु भएको छ । यूएस साउदर्न कमान्डले सोसल मिडिया एक्समा पोस्ट गर्दै डिसेम्बर १५ मा रक्षा सचिव पिट हेग्सेथको निर्देशनमा जोइन्ट टास्क फोर्स साउदर्न स्पियरले आतङ्कवादी सङ्गठनहरूले सञ्चालन गरेका तीनवटा जहाजहरूमाथि अन्तर्राष्ट्रिय जलक्षेत्रमा घातक काइनेटिक आक्रमण गरेको बताएको छ । कमान्डकाअनुसार गुप्तचर जानकारीले ती जहाजहरू ज्ञात लागुऔषध तस्करी मार्गहरूमा यात्रा गर्दै लागुऔषध तस्करीमा संलग्न भएको पुष्टि गरेको थियो । आक्रमणमा पहिलो जहाजमा ३ जना, दोस्रोमा २ जना र तेस्रोमा ३ जना गरी कुल ८ जना ’नार्को–टेररिस्ट’हरू मारिएको जनाइएको छ ।






