नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रियसभाको निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिइरहेको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भईरहेको बताउनुभएको हो । उहाँले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनस्र्थापना हुनैपर्ने अडान समेत दोहो¥याउनु भयो । मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुको विकल्प नरहेको ओलीको भनाई थियो । उहाँले संविधान मिच्न, कुल्चिन नदिन आफूहरुले प्रतिनिधि पुनस्थापनाको माग गर्नुपरेको समेत बताउनु भयो ।
ओलीले भन्नुभयो, आज राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन भईराखेका छन् । अब यो सिद्धियो पनि । यो नियमित प्रक्रिया हो । डेमोक्रेटिक अभ्यास हो । अलिकति डेमोक्रेसी छ, अझै पनि चुनावको कुरा हुँदैछ भन्ने कुरा यसले देखाउँछ । राष्ट्रिय सभा अझै पनि छ । तर प्रतिनिधिसभा भंग गरिएको छ । प्रतिनिधि सभा भंग गरियो, संसद भवन आगो लगाइयो । निर्वाचित सरकार भंग गरियो । र, एउटा अनाधिकृत असंवैधानिक सरकार जडान गरियो त्यहाँ । यो भन्दा डेमोक्रेसीको मजाक के हुन्छ ? त्यस्तो असंवैधानिक सरकारको अनाधिकृत सिफारिसमा सार्वभौम जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा भंग गरियो । यसो भनिरहँदा कसै प्रतिको वैयक्तिक रिसराग होइन । यो लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता हो । संविधानप्रतिको हाम्रो प्रतिवद्धता हो । संविधान संशोधन गर्न सकिन्छ । मिच्न, कुल्चिन पाईदैन । संशोधन गरेर अगाडि जान सकिन्छ । तर मिच्न, कुल्चिन पाईदैन । यहाँ संविधान मिचिएको छ, कुल्चिएको छ । त्यसकारण हामी भनिरहेका छौ–देशलाई संवैधानिक मार्गमा फर्काउनै पर्दछ । प्रतिनिधिसभाको पुनस्र्थापना हुनैपर्दछ ।
अध्यक्ष ओलीले मुलुकमा अब अपराधिक गतिविधि हुन नदिन आफ्नो पार्टीले पिपुल भोलेन्टियर्स टोली टोलटोलमा परिचालन गर्ने निर्णय लिएको समेत बताउनु भयो ।






