केही समयअघिसम्म निक्षेप संकल उपकरण वा रिभर्स रिपो जारी गरेर बजारको तरलता व्यवस्थापन गरिरहेको केन्द्रीय बैंक पछिल्लो पटक ऋणपत्रमा केन्द्रित हुँदै गएको छ ।
चालु आर्थिक वर्षमा पहिलो पटक १४ पुस २०८२ मा केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँबराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क जारी गरेको राष्ट्र बैंकले मंगलबार फेरि आठौँ पटक ऋणपत्र जारी गर्न लागेको हो ।
सोमवार राष्ट्र बैंकले २५ अर्बको बन्ड जारी गरेकोमा आज (मंगलवार) राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज जारी गरेको छ ।
अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्ध गरी सोको २.५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले सूचनामा भनेको छ ।
राष्ट्र बैंकले २०५३ सालमा पहिलोपटक ‘नेपाल राष्ट्र बैंक बन्ड, २०५३ जारी गरेको थियो । खासै ऋणपत्रलाई प्राथमिकतामा नराख्ने गरेको राष्ट्र बैंकले फेरि पछिल्लो समय ऋणपत्रलाई जोड दिन लागेको छ ।






