विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यार्थीका लागि शैक्षिक सत्र अक्सर बाढी, तातो लहर तथा शीतलहरका कारण प्रभावित हुने गर्दछ । उच्च जोखिमयुक्त क्षेत्रका विद्यालय विपद्को समयमा अस्थायी आश्रयस्थलका रुपमा प्रयोग गरिँदा लामो समयसम्म पठनपाठन बन्द हुने गर्दछ । विद्यालय आफँै पनि विपद्बाट प्रभावित हुने तथा कतिपय परिवेशमा विद्यालय आवतजावत गर्न कठिनाई उत्पन्न हुन गई पठनपाठन अवरुद्ध हुने गरेका छन् । समुदायको जलवायु उत्थानशीलता मापन सर्वेक्षणले यसलाई शिक्षा क्षेत्रमा विद्यालयहरुको मुख्य कमजोरी वा उत्थानशीलताको रिक्तता’ को रुपमा पहिचान गरेको छ । यसबाहेक, विपद्का समयमा सीमान्तकृत समूहका विद्यार्थीको विद्यालय उपस्थिति पनि प्रभावित हुने गरेको देखिन्छ ।
यी विभिन्न परिस्थितिको विश्लेषण गर्दै प्राक्टिकल एक्शन नेपालले कैलाली, कञ्चनपुर र बर्दियामा “विद्यालयमा उत्थानशीलता” कार्यक्रम सञ्चालन गरेको छ । हाल १४ वटा विद्यालयमा जारी कार्यक्रमले जलवायु परिवर्तनको बढ्दो जोखिमका बीच शिक्षाको मौलिक अधिकारलाई सुरक्षित गर्ने लक्ष्य लिएको छ । कार्यक्रमहरु विपद् आइसकेपछि गरिने प्रतिकार्यको सट्टा, विपद् आउनु अगावै गरिने पूर्वतयारीमा केन्द्रित छन् । बाढी वा अन्य संकटको समयमा बालबालिकाको सिकाई नरोकियोस् भन्नेमा परियोजना केन्द्रित छ ।
परियोजनाले शिक्षा शाखासँगको सहकार्यमा स्थानीय पाठ्यक्रममा जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनिकरणसम्बन्धी विषयवस्तु समावेश गर्न सहजीकरण गरेको छ । यसका साथै विद्यालय सुधार योजनामा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलतासम्बन्धी विषयवस्तु समावेश गर्ने कार्य अघि बढाएको छ । परियोजनाले पालिकाको शिक्षा शाखासँग समन्वय गरी प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण तालिम समेत दिएको छ ।
“विद्यालयमा उत्थानशीलता” परियोजना रणनीतिको मुख्य स्तम्भ भनेको विद्यार्थीको सशक्तीकरण हो । विद्यार्थीलाई केवल सहयोगको आशा गर्ने समूहका रूपमा मात्र नहेरी, उनीहरूलाई विपद् र उत्थानशीलताका अभियन्ता” को रूपमा तयार गरिँदैछ । अन्तर–विद्यालयस्तरीय प्रतियोगिताहरू मार्फत् कक्षा ६ देखि ८ र सोभन्दा माथिका विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने गरिएको छ ।
प्राक्टिकल एक्शनका वरिष्ठ कार्यक्रम अधिकृत रमेश गौतमका अनुसार ‘“हाम्रो उद्देश्य पूर्वतयारीको संस्कृति विकास गर्नु हो । जब एक विद्यार्थीले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी हाजिरीजवाफ, वक्तृत्वकला, साँस्कृतिक कार्यक्रम वा अन्य प्रतियोगितामा भाग लिन्छन्, उनीहरूले केवल पुरस्कार मात्र जित्दैनन्, बरु जीवन बचाउने उपायहरू आफ्नो घर र समुदायसम्म पनि पु¥याउँछन् । अतिरिक्त क्रियाकलाप मार्पmत् विद्यार्थीहरूले जलवायु सचेतना, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायमा सहकार्यको महत्व बुझ्ने मौका प्राप्त गरेका छन् ।
परियोजनाले स्थानीय पूर्वाधार निर्माण र रणनीतिक योजनामा पनि सहयोग गर्दै आएको छ । बाढी उत्थानशील भौतिक संरचनाको साथै सुरक्षित निकासको मार्ग निर्माणमा पनि सहयोग गर्दे आएको छ । विपद् अथवा संकटको समयमा विद्यालय भवन आश्रयस्थलका रूपमा प्रयोग भएमा वा बाढीले अवरोध गरेमा, वैकल्पिक स्थानबाट तुरुन्तै पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाईएको छ । विद्यालय उत्थानशीलता कार्यक्रमले सुरक्षित सिकाई वातावरणको माध्यमबाट छात्रा र सीमान्तकृत समूहका विद्यार्थीको उपस्थिति बढाएको छ । विपद् उत्थानशीलका हरेक गतिविधिमा विद्यालय, अभिभावक र स्थानीय सरकारको सहकार्य र समन्वय विस्तार हुदै गर्दा जलवायु परिवर्तनका झट्काहरू सहन सक्ने उत्थानशील शिक्षा प्रणालीको खाका तयार भइरहेको अनुभुति गर्न सकिन्छ ।
गर्मीबाट बच्न स्कुलका छतमा रिफ्टेक्टीभ पेन्ट
जलवायु परिवर्तनका कारण हरेक वर्ष तापक्रम बढ्ने र त्यसको असर विद्यालय तथा बालबालिकामा पर्न थालेपछि यसलाई कम गर्न कञ्चनपुरको बेलौरी नगरपालिका ५ स्थित श्री जन नमुना माध्यमिक विद्यालयमा नयाँ प्रविधि (रिफ्टेक्टीभ पेन्ट) को अभ्यास शुरु गरिएको छ ।
रिफ्लेक्टिभ पेन्ट भनेको सूर्यको प्रकाशको किरणहरूलाई सतहबाट फिर्ता (परावर्तन) गर्ने विशेष रङरोगन हो । सामान्य रङरोगनहरूले सूर्यको ऊर्जा सोस्छन् । जसले सतहलाई तातो बनाउँछ । त्यो ताप कोठामा सर्ने हुँदा कोठा भित्र पनि गर्मी हुन्छ । तर रिफ्लेक्टिभ पेन्टले प्रकाश र ताप दुवैलाई धेरै हदसम्म फिर्ता फर्काइदिन्छ । जसलाई “कूल रूफ टेक्नोलोजी” पनि भनिन्छ । छत वा भित्तामा यो पेन्ट लगाउँदा यसले मुख्य रूपमा सतहको ताप सोस्ने दर कम गर्छ । जब छाना वा भित्ताले कम मात्रै तातो सोस्छ, कोठा भित्र पनि कम मात्रै तातो पस्छ र कोठा चिसो रहिरहन मद्दत पुग्छ ।
भारत तथा अन्य विभिन्न मुलुकहरुमा अपनाइएको यस प्रविधि नेपालका कञ्चनपुर, कैलाली र बर्दियाका विद्यालयमा पनि परिक्षण गरिएको छ । जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शन, पेसवान, स्थानीय सरकार र विद्यालयको सहकार्यमा कञ्चनपुरको बेलौरीस्थित श्री जन नमूना माध्यमिक विद्यालयमा रिफ्लेक्टिभ पेन्ट प्रविधिलाई परीक्षण तथा अनुसन्धानका लागि शुरु गरिएको हो ।
यस प्रविधि अन्तर्गत विद्यालयको छतमा सेतो रंग लगाइएको छ र कक्षाकोठामा तापक्रम मापनका लागि थर्मोमिटर राखिएको छ । यस्तै, सेतो रंग नलगाइएको विद्यालयको भवनमा पनि अर्को थर्मोमिटर राखिएको छ । दुवै थर्मोमिटरमा हरेक दिन तापक्रम मापन गरिन्छ । यसरी तापक्रम मापन गर्दा रिफ्लेक्टिभ पेन्ट (सेतो रंग) नलगाएको भवनमा भन्दा सेतो रंग लगाएको कक्षाकोठामा तापक्रम कम भएको शिक्षक तथा विद्यार्थीको अनुभव छ ।
जन नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरसिंह चौधरीले अत्याधिक गर्मीका कारण स्कुल बन्द गर्नुपर्ने अवस्थाको सम्भावना कम भएको बताउनु भयो ।
प्राक्टिकल एक्शनका जलवायु उत्थानशिल कार्यक्रमका प्रमुख विक्रम रानाले तातो हावा अर्थात् लू बाट विद्यालय शिक्षालाई प्रभावित हुन नदिन परीक्षणको रुपमा केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘तातो लहरको क्षेत्रमा हामी अहिले पनि सिक्ने क्रममै छौँ । तर एउटा नविन प्रयोगका रूपमा हामीले विद्यालयका भवनहरूमा ‘इलास्टोमेट्रिक पेन्ट’ को परीक्षण गरिरहेका छौँ । तराईका सरकारी विद्यालयहरू जहाँ एसी वा फ्यान(पंंखा) को पर्याप्त सुविधा छैन । त्यहाँका कङ्क्रिटका छतहरूले धेरै तापक्रम सोस्छन् । यो विशेष प्रकारको रङ लगाएपछि भवनले सोस्ने तातो १८ देखि २० प्रतिशतसम्म रिफ्लेक्ट हुन्छ भन्ने वैज्ञानिक आधार छ । हामीले १४ वटा विद्यालय लक्षित गरेकोमा अहिले चार वटामा यो रङ लगाएका छौँ । विद्यार्थीलाई नै रङ लगाएको कोठा र नलगाएको कोठाको तापक्रम मापन गर्न लगाएर त्यसको प्रभाव अध्ययन गरिरहेका छौँ । यो नविन प्रयोग हो । यसले ‘हुँदा खाने’ वर्गलाई प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यो महत्वपूर्ण छ । जसले एसी जडान गर्न सक्दैनन्, उनीहरूका लागि यो रङ एउटा दिगो समाधान हुनसक्छ । यस बाहेक हामीले स्थानीयस्तरमा चिसो पानी राख्न प्रयोग गरिने माटोका घैँटोहरू वा चौतारीमा बसेर पानी खाने जस्ता पुराना उपयोगी परम्पराहरूलाई पनि कसरी आधुनिक आवश्यकतासँग जोड्न सकिन्छ भनेर हेरिरहेका छौँ ।
गत वर्षको चरम गर्मी पश्चात कार्यक्रममार्फत गरिएको रंगरोगन पछि कार्यक्रमको टोलीले गरिरहेको अध्ययनको प्रारम्भिक नतिजाले त्यस्तो रंगरोगनले कक्षाकोठाको तापक्रम करिब २ डिग्रीसम्म घटेको देखिएको छ । अध्ययन टोलीले गर्मी उत्कर्षमा रहेको बेलामा समेत रिफ्लेक्टिभ पेन्टको प्रभावकारिताको अवलोकन गरिने जनाएको छ । कम लागतमा प्रभावकारी परिणाम देखिएपछि अन्य विद्यालयमा पनि लागु गर्र्न स्थानीय सरकार अग्रसर देखिएको छ ।बेलौरी नगरापालिका ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले भन्नुभयो – ‘शुरुवाती अवस्थामा यसको प्रभावकारिता राम्रो रहेको पाइयो, अब हामी अन्य विद्यालय तथा भवनमा पनि यस्तो अभ्यास गर्छौं ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनजागृती माध्यमिक विद्यालयमा पनि रिफ्लेक्टिभ पेन्ट लगाईएको छ । भवन भित्र तापक्रम मापन यन्त्र (थर्मोमिटर) पनि जडान गरिएको छ । समय अनुसार तापक्रममा हुने परिवर्तन हेर्ने क्षमता पनि विद्यार्थीमा विकास भएको छ । गत भदौमा विद्यालयको पक्की भवनको २ तलामा ४ कोठालाई पुग्ने गरी रंग लगाएर तापक्रम मापन यन्त्र जडान गरिएको थियो । कक्षा १० मा अध्ययनरत सुर्जाकला साउदले तापक्रम नियन्त्रण गर्ने प्रविधि संगै आफुहरुले मौसमका ढाँचाबारे पनि जानकारी प्राप्त गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘‘तापक्रम मापन यन्त्र जडान पछि तापक्रमबारे जानकारी भएको छ । रंग लगाएकोे कक्षाकोठामा कम तापक्रम देखिन्छ रंग नलगाएको कक्षाकोठामा बढी तापक्रम देखिन्छ ।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्री पेन्टिङ गरेपछि तुलनात्मक रुपमा कम गर्मी महशुस गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘भदौमा पेन्टिङ भयो, धेरै महसुस त गर्न पाइएको छैन, तर कोठाभित्र कम तापक्रम रेकर्ड भएको छ, आगामी दिनमा सबै कोठाहरुमा पेन्ट गर्ने सोच बनाएका छौं ’। कक्षा १२ सम्म अध्ययन हुने यो विद्यालयमा ३ सय विद्यार्थी छन् । शिक्षिका चन्द्रकला पौडेल भन्नुहुन्छ ‘‘वैशाखदेखि असार सम्म सहनै नसक्ने गर्मी हुन्छ, पहिले यस्तो गर्मी हुँदैनथ्यो । पेन्टिङ गरेपछि राहत महशुस भएको छ ।
बर्दियाको गुलारिया नगरपालिका १२ भैसाहीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको छतमा पनि त्यस्तो पेन्ट गरिएको छ । गर्मी मौसममा अत्याधिक गर्मी र लु का कारण पठनपाठनमा समस्या हुने गर्दथ्यो । विद्यालय भवनको छत तातिएर कक्षाकोठाभित्र बस्नै समस्या हुन्थ्यो । कक्षा ८ मा अध्ययनरत छात्र सुवास थारु पंखाले पनि नधान्ने गर्मीलाई अहिलेको प्रविधिले कम गरेको बताउनुभयो ।उहाँले भन्नुभयो गर्मी महिनामा धेरै गर्मी हुन्छ, बत्ति जाँदा पसिनाले भिज्ने गर्छौं । कतिपय विद्यार्थी गर्मीले बेहोस समेत हुने गर्दछन् । अब भने यो प्रबिधिले गर्मीमा सजिलो हुने विश्वास छ ।
विद्यालयको २ तले भवनको ३ वटा कोठाको छतमा गत भदौमा पेन्ट गरिएको हो । कक्षा ९ मा अध्ययनरत विद्यार्थी अरुनिमा थारुले भन्नुभयो, ‘छतमा सेतो रंगको पेन्ट लगाएपछि गर्मी कम भएको छ ।
कोठाको तापक्रम नाप्नका लागि सेन्सर मेसिन जडान गरिएको छ । यस्तो पेन्ट लगाएको छतमाथि ५ डिग्रि र कक्षाभित्र ३ डिग्रि सम्म तापक्रम कम हुने देखिएको शिक्षिका ईन्दिरा धमलाले बताउनु भयो ।
गत भदौ ३ गते विद्यालयको छतमा पेन्ट लगाइएको हो । सेन्सर मेसिनले देखाएको परिणामका आधारमा एक बर्षपछि परिक्षणको अन्तिम निष्कर्ष निकालिने छ । परीक्षण सफल भएमा थप विद्यालयमा पनि पेन्ट गरिने परियोजनाले जनाएको छ । गुलारिया नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रामकुमार थारुले अत्याधिक गर्मीबाट जोगिन विपद् व्यवस्थापनमा काम गर्ने सस्थासंग मिलेर विद्यालयहरुमा यो प्रविधि विस्तार गर्नुपर्ने बताउनु भयो ।
अत्याधिक गर्मी र लु न्युनिकरणका लागि यी विद्यालयमा गरिएको प्रयासलाई प्रभावकारीताका आधारमा अन्य विद्यालयमा पनि राख्नसक्ने हो भने तातोहावाका कारण विद्यालय शिक्षा प्रभावित हुनबाट जोगिनेछ । तराईका अत्याधिक गर्मी हुने जिल्लाहरुमा विद्यालयसंगै सार्वजनिक र सरकारी कार्यालयहरुमा पनि यो प्रविधि विस्तार गर्न सक्ने हो भने नागरिकको सेवा प्रवाह पनि चुस्त दुरुस्त बन्ने थियो । त्यसैले जलवायु उत्थानशिलतातर्फ अग्रसर हुन यस्ता प्रविधिमा तीनवटै सरकारले बजेट छुट्याउन जरुरी छ ।






