पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीहरुको व्यावहारिक सीप प्रदर्शन गर्ने उद्देश्यले खाना महोत्सव (फुड फेस्टिभल) तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीले माघ २३ गते खाना महोत्सव (फुड फेस्टिभल) तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको आज (सोमबार) पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो । एकेडेमीका सह प्रधानाध्यापक देवेन्द्र अधिकारीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक र व्यावहारिक शिक्षालाई जोड्न कार्यक्रम आयोजना गरिएको बताए ।
एकेडेमीले समयसापेक्ष परिवर्तनलाई आत्मसाथ गर्दै सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ, सहप्रधानाध्यापक अधिकारीले भने, यस एकेडेमीले होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का १ सय २२ जना विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा हुने खाना महोत्सवमा विभिन्न परिकारहरू तयार पारी महोत्सवमा पस्कने तयारी गरेका छौं । उनले खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रममा ३ सय र ५ सयको टिकट रहेको जानकारी दिए । महोत्सवमा हामीले विद्यार्थीहरुलाई ३ सय र अन्यलाई ५ सयको टिकटको व्यवस्था गरेका छौं टिकटको अर्थ प्रवेश गर्न पाइने मात्र होइन विद्यार्थीहरुलाई केही सिष्टम सिकाउन पनि हो, उनले भने, टिकट रकम बराबरको विद्यार्थीहरुले बनाएको विभिन्न परिकारहरु उपलब्ध गराउँछौं ।
महोत्सवमा स्थानीय ब्याण्ड र कलाकारको प्रस्तुती रहने एकेडेमीले जनाएको छ । एकेडेमीले विद्यार्थीहरुको रुचि अनुसारको सिकाईमा भलिबल र बास्केटबल खेलमा प्रशिक्षण समेत गराउँदै आएको छ ।
विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको क्षमता प्रस्फुटन गराउन र वास्तविक कार्यस्थलको अनुभव प्रदान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने एकेडेमीको विश्वास रहेको छ ।
एकेडेमीले होटल व्यवस्थापनसँगै यसै शैक्षिक सत्रदेखि सिटिइभिटी (CTEVT) सँगको सम्बन्धनमा सिभिल इन्जिनियरिङ (Diploma in Civil Engineering), सूचना प्रविधि (Information Technology) र होटल व्यवस्थापन (Hotel Management) विषयमा तीन वर्षे डिप्लोमा कार्यक्रमहरू सञ्चालन गरेको छ।
हाल मन्टेसरीदेखि कक्षा १२ सम्म करिब एक हजार विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा प्रयोगात्मक सिकाइका लागि आवश्यक अत्याधुनिक प्रयोगशालाहरू तथा होटल व्यवस्थापन अध्ययनका लागि सुविधासम्पन्न संरचनाको व्यवस्था गरिएको छ।






