कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
नेता, कार्यकर्ता चुनावका बेला मात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मझेरी बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की–१ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने ।
उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखिएको स्मरण गर्दै यसपालि आफ्नो र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।
‘कास्की–१ मा २०६४ र २०६५ मा जस्तै यहाँहरूको मत हामीलाई आवश्यक छ,’ उनले भने, ‘व्यवस्था हामीले फेरेका हौँ । हामी पुरानामध्ये नयाँ हौँ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’
जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गरे । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पैरवी गर्न लाग्छौं ।’
कास्की–२ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा–२१ मा घरदैलोमा छन् । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै उनले जसको एजेन्डामा देश अघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिए ।
‘हाम्रो एजेन्डा हो संघीयता, नयाँ संविधान, गणतन्त्र,’ उनले भने, ‘हाम्रै नेतृत्वमा मात्र यो व्यवस्था सफल हुन सक्छ ।’
कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरू भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेन्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए ।
कास्की क्षेत्र नम्बर–३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थापनासँगै घरदैलोमा छन् ।
उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको जनाउँदै समाधानको खाकासमेत भएको बताए । ‘बाँदर नियन्त्रण गर्न पनि तपाईंहरूकै सुझावअनुसार अघि बढ्छौं,’ उनले भने ।






