फेवा सिटी अस्पताल प्रा.लि.का संस्थापक अध्यक्ष तथा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन प्रा.डा. बुद्धिबहादुर थापा प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि एफआईसीपी (Fellow of Indian College of Physicians) बाट सम्मानित हुनुभएको छ ।
भारतमा कार्यरत फिजिसियनहरूको छाता संस्था एसोसिएसन अफ फिजिसियन अफ इन्डिया (API) द्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा प्रा.डा. थापालाई उक्त उपाधि प्रदान गरिएको हो । चिकित्सा क्षेत्रमा पुर्याउनुभएको दीर्घकालीन, उल्लेखनीय तथा प्रभावशाली योगदानको कदरस्वरूप उहाँलाई एफआईसीपी उपाधिबाट विभूषित गरिएको संस्थाले जनाएको छ ।
प्रा.डा. थापाको यस विशिष्ट उपलब्धिले फेवा सिटी अस्पताल परिवार मात्र नभई समग्र चिकित्सा क्षेत्रलाई गौरवान्वित बनाएको छ । उहाँको समर्पण, अनुभव र सेवाभावले समाज तथा राष्ट्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको अस्पतालको भनाइ छ ।
फेवा सिटी अस्पताल प्रा.लि. परिवारले प्रा.डा. बुद्धिबहादुर थापाको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनहरूमा अझ प्रभावकारी सेवामार्फत समाज र राष्ट्रलाई निरन्तर योगदान दिन सकून् भन्ने कामना व्यक्त गरेको छ






