सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औँ अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी हुने भएको छ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो । पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए ।
प्रदर्शनीमार्फत प्रतियोगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए । प्रदर्शनीमा मैदानभित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको जीवन्त फुटबल संस्कृतिलाई तस्बिरमार्फत प्रस्तुत गरिने उनले बताए । प्रदर्शनीमा ५० भन्दा बढी फोटो राखिनेछ ।
प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्न समेत योगदान पुर्याउने अपेक्षा सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । रजत जयन्तीमा उत्साह थप्नका लागि फोटो प्रदर्शनीमा सहयोग गरिएको उनले सुनाए ।






