पोखराको प्रर्स्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको छ । शिवरात्रीका अवसरमा फागुन ३ गते सन्तानेश्वर महादेव मन्दिर पोखरा–५ प्रर्स्याङमा चिल्ड्रेन पार्कमा विशेष कार्यक्रम हुने भएको हो ।
प्रर्स्याङमा बगैंचा पार्क व्यवस्थापन समितिको आयोजना र शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतबन्ध तथा भजन साँझ आयोजना हुन लागेको कार्यक्रम संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरमा बर्सेनि शिवरात्रीका अवसरमा स्वतःस्फूर्त रूपमा कार्यक्रम हुँदै आएको भए पनि यसपटक व्यवस्थित ढंगले विशेष कार्यक्रमकै रूपमा आयोजना गरिएको व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो पटक पर्यटनसँग समेत जोडिएको पार्कमा विशेष पौराणिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा कार्यक्रम गर्न लागिएको हो ।
‘प्रर्स्याङको सन्तानेश्वर मन्दिरको आफ्नै महत्व र गरिमा छ । यहाँ बर्सेनि शिवरात्रीमा स्वतःस्फूर्त कार्यक्रम हुँदै आएका थिए । यसपटक विशेष कार्यक्रम गरेर सिंगो समुदायलाई जोड्न खोजेका हौँ र यसको व्यवस्थापन पार्क समितिले गर्नेछ,’ पराजुलीले भने, ‘यो कार्यक्रममा धेरै जनाले सहकार्य पनि गर्नुभएको छ ।’
यसैक्रममा प्रस्र्याङमा हुने शिवरात्री विशेष कार्यक्रमलाई फिस्टेल आइभिएफ एन्ड फर्टिलिटी सेन्टरले साथ दिएको छ । आइभिएफ सेन्टरको तर्फबाट डा. अनिल शेरचन र व्यवस्थापन समितिको तर्फबाट कार्यक्रम संयोजक पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
शिवरात्री विशेष कार्यक्रममा १०८ शिवलिङ्गमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चण्डाकर्म, निःशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी आकर्षणका रूपमा रहने छन् । यसैगरी त्यहाँ विभिन्न स्टलहरू राखिने छन् भने सामूहिक लाखबत्ती तथा ठाडा बत्ती बाल्ने, धुनी पूजा र बृहत् भजन साँझ हुने आयोजकले जनाएको छ ।






