पश्चिमा समाज नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सघाउने भएको छ । बिहीबार पोखरामा पश्चिमा समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बीच समझदारी भएको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पश्चिमा समाज नेपालले नेपालभरि रहेका पश्चिमा समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन र एकबद्धता हुन आग्रहसमेत गरेको छ ।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गर्बुजा पश्चिमा, महासचिव चन्द्रप्रकाश पाइजा पश्चिमा र रास्वपा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलबीच समझदारी पत्र आदान–प्रदान गरिएको थियो ।
“पश्चिमा समाजजस्तो संगठित र सचेत समुदायले रास्वपालाई सघाउने निर्णय गर्नु परिवर्तनप्रति जनताको भरोसाको प्रमाण हो,” उम्मेदवार पौडेलले भने, “यो समर्थनले कास्की–२ मा स्वच्छ राजनीति र जवाफदेही नेतृत्व स्थापना गर्ने हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ ।”
उनले समुदाय, समाज र नागरिकसँग हातेमालो गर्दै जनताका समस्या संसदमा उठाउने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पौडेलले सबै समुदायको विश्वास जित्दै साझा विकास र सुशासनका लागि अघि बढ्ने प्रतिबद्धता दोहोर्याए । यसैबीच उम्मेदवार पौडेलले निरन्तर कास्की क्षेत्र नम्बर २ का जनतासँग छलफल, अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।






