पोखरा । पोखरा १० बुद्धचोकस्थित सोसल पब्लिक स्कुलको २९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक विद्यालयहरूले राष्ट्रको शैक्षिक गुणस्तर अभिवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्यांकन गरे ।
पोखरा वडा १० का सदस्य परमेश्वर कार्कीले बालबालिकाले प्रस्तुत गरेका आकर्षक एवं सृजनात्मक कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरलाई स्पष्ट संकेत गरेको उल्लेख गरे ।
प्रिन्सिपल सिद्धार्थ शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक सत्र २०८२ मा विद्यालयले हासिल गरेका शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापसम्बन्धी उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरे । उनले विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिए ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्माले शिक्षामा गरिएको खर्च, खर्च नभई भविष्यका लागि गरिएको महत्वपूर्ण लगानी हो भने ।
समारोहमा अध्यक्षको आसनबाट विद्यालयका सल्लाहकार वीरेन्द्रबहादुर कार्कीले बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका विद्यालय जत्तिकै महत्वपूर्ण रहने बताउँदै सकारात्मक अभिभावकत्वको आवश्यकता औंल्याए । समारोहमा विद्यालयका संस्थापक अध्यक्ष खिम गुरुङलगायतको उपस्थिति थियो ।
सो अवसरमा विद्यालयमा २० वर्षसम्म निरन्तर सेवा पु¥याउने शिक्षिका रमा रानालाई ‘दीर्घसेवा सम्मान’ पदकबाट सम्मानित गरिएको थियो । गत वर्षको वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ११ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयका संस्थापक धोजकुमार गुरुङले जानकारी दिए ।
साथै, एसई एक्सिलेन्ट अवार्ड–२०८१ बाट छात्रा गरिमा शर्मा सम्मानित भएकी छन् भने कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य कक्षा १० का विद्यार्थी श्रेयास गुरुङले प्रस्तुत गरे । सञ्चालन शिक्षक रमेशचन्द्र लम्साल र छात्रा रोश्मी श्रेष्ठले गरे ।






