पोखरा । पोखरामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाबिर पुनमाथि अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ फागुन २८ गते पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक क्षेत्रमा डा. महाबिर पुनसहितको टोलीले “महाविर पुन सम्झना, सपना र अविष्कार यात्रा” नामक पुस्तक बिक्री गरिरहेका बेला एक व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।
घटनाबारे विभिन्न सामाजिक सञ्जालमा चर्चा भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने ४२ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङलाई २०८२ फागुन २८ गते नै पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरी अभिलेखअनुसार पक्राउ परेका गुरुङ यसअघि पनि तीन पटक लागूऔषध सम्बन्धी मुद्दामा सजाय पाइसकेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






